देखाउने दाँत हैन क्षेत्रगत हुनुपर्छ दैलेखको पर्यटन

दैलेख पर्यटनको हिसावले महत्वपुर्ण जिल्लाको रुपमा रहेको छ भन्ने चर्चा परिचर्चा चलेको छ । पर्यटन क्षेत्रका लागि आवश्यक पर्ने अन्य बिकास भन्दा पहिला चर्चा हुनु पनि जिल्लाको लागि गौरवको कुरा हो । किनकी विगतमा दैलेखका ऐतिहासिक बस्तुहरुको चर्चा परिचर्चा थिएन । अहिले दैलेख उद्योग बाणिज्य संघ विभिन्न संचारमाध्यम, स्थानीय निकाय र अन्य निकायहरुले गरेको सानोतिनो प्रयासले चर्चा धेरै कमाउन सफल भएको छ ।
काठमाण्डौंमा चर्चा भएको दैलेखको पर्यटनका लागि काठमाण्डौं बसेर नीति बनाउनेहरुले भने अँझै राज्यको नीतिभित्र समावेश गर्न सकेका छैनन् । सरकारले संघिय प्रदेशको नामाँकरण गरेसँगै दैलेख मात्र नभै ६ नम्बर प्रदेशलाई पर्यटन क्षेत्रको रुपमा बिस्तार गर्नुपर्ने धारणाहरु बाहिर आउनु पनि जिल्लाको लागि गौरवको कुरा हो ।
केन्द्रमा बसेर नीति निर्माण गर्नेहरुले समेत दैलेखको पर्यटनलाई बास्तवीक अध्ययन गर्न नसकेर केवल नाम जोडेर बखान गर्ने मात्रै कामका लागि सिमिति गर्नु हुँदैन् । दैलेखमा बिभिन्न हिसावले पर्यटन भित्राउने संभावना रहेका छन् । त्यो अभियानलाई अव जिल्लाका जिम्मेवार निकायहरुले केन्द्रमा बसेर काम गर्ने निकायहरुलाई सम्झाउनुपर्ने देखिएको छ ।
दैलेखको पंचकोशी क्षेत्र र निरन्तर बल्ने ज्वाला पर्यटनका लागि एउटा महत्व हुन सक्छ । अर्कोतर्फ यो क्षेत्र पेट्रोलियम पदार्थको संभावना बोकेको क्षेत्र भएकोले पनि यसका लागि पनि अध्ययन अनुसंन्धानलाई अगाडी बढाउनुपर्दछ । नेपाली भाषाको अहिलेसम्मको सवैभन्दा पुरानो कृति दैलेखमै रहेकोले यसको अनुसंन्धान सँगै पर्यटन बिकास गर्नुपर्दछ । यहाँ रहेका विभिन्न ३२ जात जातीका उद्गम स्थलहरुको बारेमा खोज अनुसंन्धानका लागि बाटो खुल्ला गर्नुपर्दछ । समुन्द्र सहतदेखि ४ हजार २ सय मिटर उचाईमा रहेको दैलेख र कालिकोटको सिमानामा पर्ने महावु धामले पनि धार्मिक र पर्यटन पदमार्गको बिकास हुँदै कैलास मान सरोवर सम्मको कुरालाई उजागर गर्नुपर्ने देखिन्छ । बर्दिया–बाँके–सुर्खेत–दैलेख–कालिकोट–जुम्लाहुँदै रारासम्मको यात्राको लागि पनि यो मार्ग महत्वपुर्ण छ । सयौ बर्ष पुराना कला र सँस्कृतिहरु अहिलेपनि दैलेखमा जिवीत छन् यसको खोज अनुसंन्धान थाल्नुपर्दछ । ऐतिहासिक गडी, पार्टी, पौवा, धर्मशालाहरुको फरक–फरक क्षेत्रसँगै पर्यटन विस्तारका लागि ठोस नीति जिल्ला र केन्द्रले तयार गर्नुपर्दछ न कि देखाउने दाँत मात्र हुनु हुँदैन दैलेखको पर्यटन बिकास ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार